No Vegetable Foods for Bhutanese Refugee
मुल्य बढेको भनेर ठेकेदारले तरकारी नदिएपछि झापा र मोरडका शरणार्थीहरुले डेढ महिनादेखि तरकारी पाएका छैनन् ।
शरणार्थीहरुका लागि खाद्य प्रबन्ध गर्ने जिम्मा पाएको लुथरन बिश्व महासंघमार्फत तरकारी पुर्याउने जिम्मा पाएको गौरव सप्लायर्सले डेढ महिनायता शिविरमा तरकारी नपठाएपछि शरणार्थीहरु तरकारीबिनै खाना खान वाध्य छन् ।
बेलडाँगी शिविर सचिव धनबीर सुब्बाले ७ हप्तायता शिविरमा तरकारी नआएको बताए ।
प्रत्येक शरणार्थीले साताको २ सय ५० ग्राम तरकारी पाउनु पर्नेमा ठेकेदारका कारण उनीहरूले डेढ महिनादेखि तरकारी पाउन सकेका छैनन् ।
ठेकेदारले लुथरनसँग गरेको सम्झौतामा मौसम अनुसारको तरकारी बितरण गर्ने सहमति हुन्छ । तर सधैं फर्सी दिएपछि शरणार्थीहरुले त्यसलाई अस्वीकार गरेका थिए । ठेकेदार संस्थाले भने तरकारीको मुल्यमा ४० प्रतिशतले बृद्धि भएका कारण शिविरमा तरकारी पठाउन नसकिएको जनाउँदै आएको छ । उसले सम्झौता हुँदाको समयभन्दा र अहिले तरकारीको मुल्यमा धेरै वृद्धि भएका कारण तरकारी दिन नसकेको बताएका छ ।
शरणार्थीहरूले भने फर्सी कुहिएको र खान योग्य नभएको भनेर फिर्ता पठाउँदै आएका थिए । उनीहरुले फर्सीकै मुल्यका अन्य तरकारी दिनसमेत माग गरेका थिए । त्यस बेलादेखि शिविरमा तरकारी आपूर्ति भएको छैन ।
युवराज विवश, दमक ।